एजेन्सी / लियोनेल मेस्सीको कीर्तिमान भङ्ग गर्दै किलियान एम्बाप्पे च्याम्पियन्स लिगको इतिहासमा २५ गोल गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । बुधबार बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेलमा गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् ।

अन्तिम १६ अन्तरगत दोस्रो लेगको खेलको ३१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एम्बाप्पेले नयाँ इतिहास रच्न सफल भए । २२ वर्ष ८० दिन उमेरका एम्बाप्पेले मेस्सीले २२ वर्ष २८६ दिन उमेरमा मेस्सीले बनाएको कीर्तिमान तोड्न सफल भएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपनि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो ।

घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।

खेलको ३१औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता लिएको थियो । क्लेमेन्ट लेङ्लेटले पेनाल्टी बक्समा विपक्षी खेलाडीमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पीएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाप्पे चुकेनन् ।

पीएसजीको त्यो अग्रता लामो समय टिकेन । ३७औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेड्रीको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीले पेनाल्टी चुकाउदा बार्सिलोनाले अग्रता लिन सकेन । लेभिन कुर्जावाले एन्टोइन ग्रिजमनलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा मेस्सीको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाएका थिए ।

इन्ज्युरी समयको पाँचौ मिनेटमा मेस्सीको कर्नरमा सर्जियो बुस्क्वेट्को फ्लिक हेडरलाई पीएसजीका डिफेन्डरले गोललाइनबाट बचाए । ७०औं मिनेटमा बुस्क्वेट्सको अर्को प्रहारमा नाभास बाधक बने ।

बल पोसेसनमा पकड राख्दै घरेलु टोलीमाथि लगातार दवाव बढाएपनि बार्सिलोनाले पीएसजीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । पीएसजीका लागि गोलरक्षक केलर नाभासले उत्कृष्ट प्रदर्शन गरेका थिए ।