ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषय पढ्ने विद्यार्थी प्रोत्साहन गर्ने भएको छ । गत वर्ष माध्यमिक शिक्षा उत्तीर्ण गरी विज्ञानसहित पाँच प्राविधिक विषय अध्ययन गर्ने तथा गरिरहेका विद्यार्थीलाई प्रत्साहन गर्दै आएको छ । 

पालिकाभित्रका सामुदायिक विद्यालयबाट २०७६ सालको एसइई परीक्षा उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्ने र गरिरहेका विद्यार्थीलाई पालिकाले प्रोत्साहनस्वरुपमा छात्रवृत्ति उपलब्ध गराउने पाथीभरा याङ्वरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लासाङ तामाङले बताए ।

OM Sai Pathibhara Hospital

विज्ञान, स्टाफ नर्स, आइएस्सीएजी, सब–इन्जिनीयरिङ, हेल्थ असिष्टेन्ट साथै कृषि विषयमा अध्ययनरत तथा अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउने कार्ययोजना भएको तामाङले बताए । गत आर्थिक वर्षमा गाउँपालिकाले आठजना विद्यार्थीलाई १२ हजार रुपैयाँ देखि २८ हजार रुपैयाँका दरले जम्मा एक लाख ५० हजार प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराएको छ । 

चालू आर्थिक वर्षमा गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिलेसम्ममा १७ जनाको प्रोत्साहन छात्रवृत्तिका लागि आवेदन आएको तामाङले बताए । 

स्थानीयस्तरमा प्राविधिक तथा विज्ञान विषयको दक्ष जनशक्ति उत्पादन गर्नका लागि गाउँपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि छात्रावृत्ति प्रदान गरेको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केसरकुमार मेन्याबोले जानकारी गराए । 

उनले भने, “पहाडी क्षेत्रका विद्यालयमा विज्ञान र गणित विषय पढाउने शिक्षक पाइँदैन । तराईदेखि खोजेर शिक्षक ल्याउनुपर्दछ । तराईदेखि ल्याएको शिक्षक पहाडी क्षेत्रमा टिकाउनै समस्या हुन्छ । गाउँपालिकामै यस्तो विषय पढ्न चाहने विद्यार्थीलाई गाउँपालिकाले सहयोग गरेको छ ।” 

पाथीभरा याङवरक गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छ । दुई हजार ६०० विद्यार्थी अध्ययन अध्यापन गर्दै आएको शिक्षा शाखाले जनाएको छ । दुई सय ८७ जना शिक्षकशिक्षिका कार्यरत हुनुहन्छ । गाउँपालिकाको अन्तरिक स्रोतबाट १२ शिक्षक रहेको शिक्षा शाखाले जनाएको छ ।