काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीले लगातार १९ औँ जीत निकाल्दै बोरुसिया मोचेनग्लाडब्याचलाई पराजित गरेको छ । यो सिजन प्रतियोगिताको प्रबल दाबेदार सिटीले २–० को जीत हासिल गरेको हो ।

जोआ क्यान्सेलोको पासमा गोल गर्दै बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाएका छन् । दोस्रो हाफमा ग्याब्रियल जिसुसले सिटीको जीत सुनिश्चित गरे । जिसुसले अन्तिम १६ मा सिटीका लागि पछिल्ला चार सिजनमा सबै पाँच खेलमा गोल गरेका छन् ।

OM Sai Pathibhara Hospital

४३ वर्षपछि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको ग्लाडब्याचले अब दोस्रो लेगमा खेल उल्टाउन ठूलो संघर्ष गर्नुपर्नेछ । दुई टोली १६ मार्चमा एक आपसमा पुनः भिड्ने भएका छन् ।

यस्तै प्रतियोगिताको सर्वाधिक विजेता रियल म्याड्रिडले भने १० खेलाडीमा सिमित एटलान्टाविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । रियलले १–० गोलले इटालियन क्लबलाई पराजित गरेको हो ।

रियलका लागि फर्लान मेन्डीले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतियोगितामा रियलका लागि उनको यो पहिलो गोल थियो । एटलान्टाका रेमे फ्रिउलर खेलको १७ औँ मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।