बिर्तामोड / विगत केहि समय यता झापाको दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसँगै झापाको धुलाबारी पुगेका छन् । उनी पूर्व युवराज पारस शाहबाहेकका परिवारका सदस्य लिएर मेचीनगरको फाइभ स्टार होटल मेची क्राउनमा केहि दिनको बसाईका लागि पुगेका हुन् ।

बिहीबार दिउँसो आफ्नै निजी सवारीसाधन चढेर परिवारका सदस्य सहित धुलावारी पुगेका उनी केहि दिन सोहि होटलमा बस्ने कार्यक्रम रहेको पूर्व राजपरिवार निकटस्थहरुले बताएका छन् । 

OM Sai Pathibhara Hospital

होटल व्यवस्थापनका एक कर्मचारीले दिएको जानकारी अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहसँगै उनी पत्नि एवं पूर्व रानी कोमल, बुहारी हिमानी अनि नातिनी पूर्णिका र कीर्तिका शाह केहि दिनको बसाईका लागि होटेल आईपुगेका हुन्। पूर्वरानी कोमलको ७१ औं जन्मोत्सव मनाउनका लागि पूर्व राजपरिवारका सदस्य होटेल पुगेको दरवार निकट स्रोतहरुले जानकारी गराएका छन् ।  

पूर्व राजपरिवारका सदस्यका लागि छुट्टै होटेल परिसरमा रहेका भिल्ला बुक गरीएको छ भने जन्मोत्सव कार्यक्रममा सहभागि हुने पाहुना लागि भन्दै होटका दर्जनौं कोठा बुक गरिएको होटलका एक कर्मचारीले जानकारी गराएका छन् । 

पूर्व राजा परिवारका सदस्य सहित केहि दिनको बसाईका लागि होटेलमा पुगेपछि होटेल सहित आसपासको क्षेत्रमा सुरक्षा ब्यवस्था अत्यन्तै कडा बनाईएको छ । सरकारले राजपरिवारलाई दिंदै आएको सुरक्षामा ब्यापक कटौती गरेको समयमा भारतीय सिमा नजिकको क्षेत्रमा पुगेका उनीहरुको सुरक्षालाई स्थानिय प्रशासनले महत्वका साथ हेरेको बताईएको छ ।

राजपरिवारको सुरक्षामा सरकारी सुरक्षकर्मीको अलावा सादा पोषाकमा उल्लेख्य मात्रामा निजी सुरक्षाकर्मीले समेत सुरक्षा दिएको अनुमान लगाउन सकिन्छ । यसअघि जनवरी १ मा पनि पूर्व राजा पत्नि कोमलसहित सोही होटेलमा देखिएका थिए । 

गत पुस १२ गते  काठमाडौँबाट पूर्वराजा ज्ञानेन्द्र झापा आएका थिए उनी केहि दिन काठमाण्डौ बसेर पुन झापा फर्किएका थिए ।