विर्तामोड / पछिल्लो समयमा नेकपा (प्रचण्ड–नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा सादा पोषाकमा कालो सुट र कालो चस्मासहित देखिन थालेका निजी सुरक्षाकर्मीलाई लिएर अनेक चर्चा चल्न सुरु भएको छ । पछिल्ला दिनमा देखिदैन आएको सो समूहले सरकारी सुरक्षाकर्मी भन्दा अग्रभागमा रहेर अध्यक्ष दाहालको सुरक्षा सम्हाल्दै आएको छ ।
झट्ट हेर्दा ब्ल्याक कमाण्डोको दस्ता जस्तो देखिने सो समूहले रातो नम्वर प्लेटको स्कार्पियो प्रयोग गर्ने गरेको छ । प्रचण्ड सवार गाडी रोकिए लगत्तै सरकारी सुरक्षाकर्मी भन्दा अग्रभागमा पुगेर सुरक्षाको पहिलो घेरा सम्हाल्ने गरेको छ ।
पछिल्लो समयमा निर्वाचनको तयारीका लागि भन्दै सरकारले यसअघि उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लगेपछि सुरक्षामा सो समूह देखिन थालेको हो । गत बुधवारबाट प्रचण्डको सुरक्षाको अग्रभागमा सो समूह देखिन थालेको हो । कालो पोषाकमा देखिएको सो समूहका विषयमा अनेक शंका समेत गर्न थालिएको छ ।
प्रचण्ड निकट स्रोतले भने सरकारले अध्यक्षको सुरक्षामा खतरा हुने गरी सुरक्षाकर्मीको कटौति गरेपछि सुरक्षामा ख्याल गर्दै प्रचण्डले विस्वास गरेका जनमुक्ति सेनाका तालिम प्राप्त पुर्व लडाकुको समूह लाई सुरक्षाको जिम्मा दिईएको जानकारी गराएको छ । स्रोत भन्छ – प्रचण्ड सार्वजनिक भएदेखि सुरक्षा टिमको नेतृत्व गर्दै आएका जनमुक्ति सेनाका कमाण्डर सन्तु दराई परवाना नेतृत्वको समूह नै अहिले सुरक्षाको अग्रभागमा देखिएको हो ।
पछिल्लो समयमा देखिएका सादा पोशाकका सुरक्षाकर्मीको विषयमा जिज्ञासा राख्दा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले सरकारले सुरक्षा दिन नसकेपछि जनमुक्ति सेनाका सदस्यले सुरक्षा सम्हाल्न थालेको जनाएका छन् । उनले सादा पोषाकमा देखिएका सुरक्षाकर्मीलाई लिएर अनेक हल्ला र प्रोपोगाण्डा सुरु भएको तर्फ संकेत गर्दै भने – अध्यक्षको सुरक्षामा सरकारले ध्यान नदिएपछि जनमुक्ति सेनाका पुर्व सदस्य स्वस्फुर्त खटिएका हुन् ।