बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने चेतावनी दिएका छन् ।
प्रचण्डले पत्रकारसँग कुरा गर्दै असंवैधानिक रुपमा घोषणा गरिएको निर्वाचनले देश संकटमा पुग्ने बताएका छन् । संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउने प्रचण्डको दावी छ ।
संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको प्रण्डले बताए । अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै प्रतिपक्षीको मागलाई प्राथमिकतामा राख्ने उनको भनाई छ । नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन हुने अध्यक्ष प्रचण्डले बताए ।
यस्तै प्रचण्डले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् । उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’