काठमाडौं / गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धेरै संख्यामा सचिवहरुको सरुवा गरेको छ । तर, कसलाई कहाँ सरुवा गरिएको बारे गोप्य राखेपछि सचिव र मुख्यसचिवबीच तनावको अवस्था आएको छ ।
एक मन्त्रीका अनुसार निर्वाचन आयोगदेखि वित्त आयोग, प्रदेश तथा संघीय मन्त्रालयहरुमा व्यापक सरुवा गरिएको छ । रमाना पत्र नबुझुञ्जेल कहाँ सरुवा भएको भन्नेबारे सचिवहरुलाई जानकारी दिइएको छैन । अधिकांश सचिवहरुले रमाना पत्र नै बुझ्न नमाने स्रोतले बताएको छ ।
मन्त्रिपरिषद् बैठकले सरुवा सम्बन्धी गरेको निर्णय सार्वजनिक नगरि हेरफेर गरेपछि सचिवहरु रुष्ट बनेका छन् । उनीहरुले मुख्यसचिव शंकरदास बैरागीलाई प्रधानमन्त्रीसँग परामर्श गर्न दबाब दिएका छन् ।
उनीहरुले मुख्यसचिव बैरागीले कर्मचारीतन्त्रको पद्धति कायम राख्न पनि भनेको एक सचिवले जानकारी दिए । सरुवाबारे मन्त्रीहरुलाई समेत जानकारी नदिइएको स्रोतले बताएको छ ।
सरुवामा परेका सचिवलाई आफू कहाँ सरुवा भएँ भन्ने कुरा रमाना पत्र हेरेपछि मात्र थाहा हुने अवस्था आएपछि मुख्यसचिव बैरागीले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भन्दै सचिवहरु आक्रोशित बनेका छन् ।
प्रतिनिधिसभा विघटनसँगै निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ अवस्थामा छन् । तर, निर्वाचन हुने भए आफ्नो अनुकुलमा पार्न निर्वाचन आयोगदेखि विभिन्न मन्त्रालयमा सचिव सरुवा गरेको कर्मचारीतन्त्रमा चर्चा चलेको छ ।