काठमाडौं  / राष्ट्रिय महिला लिगको शीर्षस्थानमा रहेको नेपाल एपिएफ क्लबले संघषूर्ण जित हासिल गरेको छ ।

परिवर्तित खेलाडी रविना गोलेको निर्णायक गोलमा सोमबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि २–१ को कठीन जित निकाल्दै शीर्षस्थानको एपिएफले अंक दुरीलाई अझै फराकिलो बनाएको छ ।

OM Sai Pathibhara Hospital

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफका खेलाडी पहिलो पटक गोल गर्नबाट चुके । पुलिसकी कप्तान खिम कुमारी गुरुङको आत्मघाती गोलबाट ६८ औं मिनेटमा एपिएफले अग्रता बनाएको थियो । सावित्रा भण्डारी सम्बाको प्रहारलाई खिमले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।

यसअघिका सबै खेलमा हावी रहँदै आएको एपिएफले ७५ औंमा जारी लिगमै पहिलो गोलको सामना गरेको थियो । साम्बा चोटका कारण एपिएफ १० खेलाडीमा हुँदा अमृता जैसीले बराबरी गोल गरेकी थिइन् । उनले पेनाल्टी बक्सको बाहिरबाट प्रहारलाई रोक्नु एपिएफकी गोलकिपर एन्जिला तुम्बाफो सुम्बाले कुनै मौका पाइनन् ।

सावित्राको ठाँउमा मैदान प्रवेश गरेकी रविनाको गोलमा एपिएफ विजय यात्रालाई जारी राख्न सफल भएको छ । रविनाले ८६ औं मिनेटमा गोल गरेकी हुन् । पहिलो लेगमा एपिएफले पुलिसमाथि ३–० को जित निकालेको थियो । पुलिसकी अमृता प्लेयर अफ दी म्याच घोषित भइन् ।

लिगकी सर्वाधिक गोलकर्ता दोस्रो खेलमा गोल विहिन बनिन् । यसअघि उनले आर्मीसँग २–० को जितमा गोल गरिनन् । १० खेलबाट उनले ४३ गोल गरिसकेकी छिन् ।

१० खेलमा एपिएफको ३० अंक छ । समान खेलमा दोस्रो स्थानको आर्मीको २५ अंक छ । यी दुई टोलीबीच लिगको अन्तिम खेल हुनेछ । विराटनगर महानगरपालिकासँग अब हुने खेल जितेमा एपिएफ अन्तिम खेल अघि नै च्याम्पियन बन्नेछ ।