काठमाडौं / रानीकोट । नाम नै काफी छ यसको सौन्दर्य बुझाउनलाई । यो ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ ।


OM Sai Pathibhara Hospital

केही समययता रानीकोटले आगन्तुकलाई मोहनी लगाएको छ । प्राकृतिक सौन्दर्यमा रमाउनेहरु रानीकोट पुग्ने गरेका छन् । त्यसमाथि सडक बिस्तारले पनि यसमा टेवा पुर्याएको छ । कोरोना र लकडाउनको कारण लामो समय घरभित्रै थुनिएका शहरियाहरु खुला हावामा सास फेर्न र मनोरम प्राकृतिक छटाहरुमा रमाउन रानीकोट पुग्ने गर्छन् ।


अहिले रानीकोट हाइकिङका लागि उपयुक्त गन्तव्य मानिएको छ । यसका लागि केही रुट छन् । जस्तो कि, सूर्यविनायक रानीकोट हुँदै आशापुरी । सूर्यविनायक रानीकोट हुँदै फूलचोकी । सूर्यविनायक रानीकोट हुँदै लाँकुरीभन्ज्याङ । अर्थात रानीकोट यी दुबैतर्फका मध्यबिन्दु हुन् ।


भक्तपुर र पनौतीको सीमावर्ती गन्तव्य हो रानीकोट । यो धार्मिक र ऐतिहासिक महत्वको थलो पनि हो । समुद्री सतहबाट करीब दुई हजार मिटर उचाइमा रहेको रानीकोटबाट काठमाडौं उपत्यका सहित लाडटाङ हिमशृंखला आँखै अगाडि देख्न सकिन्छ ।


लाडटाङ हिमशृंखला

इतिहासको कुनै समयमा रानीकोटमा दरबार रहेको भनाइ रहेपनि पुष्टि हुन सकेको छैन । यहाँ बूढापाकाको भनाइअनुसार रानीकोट राजा–महाराजाहरूको आराम गर्ने स्थान रहेको थियो ।


रानीकोटमा हाल कुनै भवन नभए पनि पुराना इँटाका अवशेष देख्न सकिन्छ । अहिले यस क्षेत्रमा खुल्ला चिडियाघर बनाउने भएका कारण पनि यो क्षेत्र चर्चामा छ । उपत्यका चार विनायकमध्ये एक सूर्यविनायक मन्दिर हुँदै रानीकोट पुगिन्छ । सूर्यविनायकदेखि रानीकोटसम्म ७।२ किलोमिटरको दुरी छ । ६ किलोमिटर बाटो कालोपत्रे भएको छ भने बाँकी कच्ची सडक छ ।

रानीकोट जाँदा डोलेश्वर महादेव मन्दिर पनि भेट्न सकिन्छ । हिन्दु धर्मावलम्बीहरुका चार धाममध्ये एक केदारनाथको शीर रहेको मन्दिर हो डोलेश्वर महादेवको मन्दिर । यसलाई स्थानीयबासीले सिपारु महादेवसमेत भन्ने गर्छन् ।


बाघभैरव

यस्तै रानीकोटमा बाघभैरव मूर्ति पनि छ, जुन ढुंगाले बनेको बाघको आकारमा छ, यसकारण यसलाई बाघभैरव भन्ने गरिन्छ । बाघभैरवमा वैशाख पूर्णिमा र मंसिर पूर्णिमामा मेला लाग्ने गर्छ ।

रानीकोट वरिपरि घनाजंगल भएकाले चराचुरुंगीको अवलोकनका लागि समेत उपयुक्त छ । भर्खरै मात्र पनौती नगरपालिकाले यो क्षेत्रलाई चरा संरक्षण क्षेत्रसमेत घोषणा गरेको छ । अहिले यो क्षेत्रमा दुर्लभ चरा काँडे भ्याकुर लगायतका चराहरु पाइने गरेको छ  ।