धरान /  रंगभुमी एकेडेमी धरानले सरकारको असंवैधानिक कदम विरुद्ध सडक नाटक “प्रतिगमन” को प्रदर्शन शुरु गरेको छ।


OM Sai Pathibhara Hospital

आज धरानको रेल्वे चौकबाट सडक नाटक “प्रगिमन” को शुरुवात गरिएको हो। “प्रतिगमन” सांकेतिक नाटक हो। जसमा हाल देशमा भईरहेको अवस्थाको विरुद्ध देखाईएको छ।


नाटकमा न्यायलयलाई पैसाले किन्न खोजिन्छ, हातहतियार देखाएर तर्साइन्छ, विदेशी शक्तिहरुले प्रभावमा पार्न खोज्नेछन् र न्यायलयमाथि आक्रमण गरिन्छ। देशमा न्याय हराएपछि विदेशी शक्ति र हातहतियारको राज शुरु हुन्छ।


तर जब जनता प्रतिगमनको विरुद्ध सडकमा निस्कन थाल्छन्। जनता जागेपछि सबै प्रतिगमनकारीहरुलाई न्यायलयको अगाडी घुँडा टेकाईन्छ र नाटकको सुखद अन्त्य हुन्छ।


यस नाटकका परिकल्पनाकार तथा निर्देशक विष्णु तामाङले संविधानलाई प्रधानमन्त्रीले असंवैधानिक “कु” गरि आफ्नो मुठ्ठीमा लिएर केन्द्रित गर्न खोज्दा व्यवस्था नै हराई जनताको मौलिक अधिकार खोसिएकाले यसको विरुद्धमा उत्रिन जनतामा आव्हान गरिएको बताए।


यो नाटक ३ दिनको तयारीपछि प्रदर्शनमा ल्याईएको निर्देशक तामाङले बताए। नाटकमा निर्देशक तामाङसँगै हरि ईवाहाङ, निश्चल कुलुङ, करिस्मा क्षेत्री, शुष्मा राई, गोमा पौडेल, अभिषेक खतिवडा, कृति लिम्बु, मिलन चाम्लिङ, मिलन भुजेल, महेश राई लगायतका कलाकारहरुले अभिनय गरेका छन्।


आज नाटक “प्रतिगमन” को धरान ११ मंगलवारेमा पनि प्रदर्शन गरिने भएको छ। भोलीदेखी धरानका विभिन्न चौकचौकमा प्रदर्शन गरिने र आईतवार धरानको भानुचौकमा नाटकको समापन गरिने निर्देशक तामाङले बताए।