विर्तामोड / केहि दिन अघि सरकारले पूर्व भिभिआईपी र भिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनको लागि भन्दै कटौति गर्ने निर्णय गरेपछि पुर्वराजपरिवारले असन्तुष्टि व्यक्त गरेको छ । 


OM Sai Pathibhara Hospital

गृहमन्त्रालयले  नयाँ कार्यविधि बनाएर सुरक्षाकर्मी फिर्ताको लागि पत्राचार गरेपछि राजपरिवार असन्तुष्ट बनेको हो । मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी प्रयोग गरिएको भन्दै फिर्ता ल्याउन सुरु गरेपछि सो विषयमा राजपरिवारले निजी सचिव मार्फत असन्तुष्टि व्यक्त गरेको हो । 


मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो। स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्व राष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ , पूर्व गृहमन्त्रीले २ र पूर्व प्रधानन्यायाधीशलाई २ जना सुरक्षाकर्मी दिइने छ।



गृहमन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेले सरकारले नयाँ कार्यविधि स्वीकृत गरेसँगै सो विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन गरिएको जानकारी दिए। ‘सरकारले नयाँ कार्यविधि स्वीकृत गरेसँगै सो विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन भइसकेको छ, फिर्ता गर्ने क्रमसमेत सुरु भएको छ,’ उनले भने।


पूर्व राजपरिवारको सुरक्षामा ९९ जना


हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटिदैं आएका थिए । जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी खटिँदै आएका थिए । नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी मात्रै दिइने उल्लेख छ।


पुनर्विचार गरिदिन पत्र

पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागरप्रसाद तिम्सिनाले तोकिएको नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि तोकिएका सुरक्षाकर्मी पर्याप्त नहुने भन्दै सङ्ख्याको विषयमा पुनर्विचार गरिदिन अनुरोध गर्दै  बिहीबार गृह मन्त्रालयमा लिखीत  पत्र पठाएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।