विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।


OM Sai Pathibhara Hospital

बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ ।


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।


नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताएका छन् । ‘विहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै,’ उनले भने, ‘बैठकबाट केही विकल्प निस्कियो भने छलफल अघि बढ्छ । तर १६ जनालाई प्रवेश गरे बैठकमा हामी नियमापत्ति गर्छौं ।’ उनले कारवाहीमा परेकाहरुलाई संसदीय गतिविधिमा समावेश नगर्न नमिल्ने तर्क गरे ।


प्रचण्ड माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले १६ जना प्रदेशसभा सदस्य कारवाहीको च्याप्टर क्लोज भइसकेको जनाए । पहिलो बैठकमा प्रवेश गरेपछि कारबाहीको च्याप्टर क्लोज भएको बताउँदै उनले भने, ‘कारबाही उहाँहरुको राजनीतिक प्रपोगाण्डा मात्रै हो ।’ प्रचण्ड माधव समूहले पनि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहका आठ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा बैठकमा प्रचण्ड९माधव समूहले निलम्बनको विषय उठाएको छैन ।


सरकार पक्षले बैठक बस्न नदिनु हास्यास्पद हुने उनले बताए । ‘सरकारले नै संसद अधिवेशन आह्वान गरेर बैठक अवरुद्ध गर्यो भने विश्वको दुर्लभ घटना हुन्छ,’ उनले भने, ‘सरकारले आह्वान गरेको बैठक सरकारले नै अवरुद्ध गर्न मिल्दैन ।’