काठमाडौं / भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले पर्यटन क्षेत्रको पूर्वाधारमा व्यापक क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीका कारण होटल, पर्यटकीय सवारीसाधन, सम्पदा र प्रमुख पदमार्गमा क्षति पुगेपछि पर्यटन उद्योगमा ठूलो असर परेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक तथ्यांकअनुसार १४२ वटा होटल, ५७ वटा साना होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन क्षतिग्रस्त भएको जानकारी दिए।
उनका अनुसार २७ वटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको छ भने लाङटाङ, गोसाइँकुण्डलगायतका प्रमुख पदमार्ग पनि बाढीबाट प्रभावित भएका छन्। उनले अहिले सार्वजनिक भएका तथ्यांक प्रारम्भिक भएकाले विस्तृत अध्ययनपछि मात्रै वास्तविक क्षतिको विवरण सार्वजनिक हुने बताए। पर्यटन पूर्वाधारमा पुगेको क्षतिले होटल व्यवसाय, यातायात सेवा, पदयात्रा र पर्यटनमा आधारित स्थानीय व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन्।
विशेषगरी लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा जाने पदमार्ग अवरुद्ध हुँदा आगामी पर्यटन सिजनमा समेत यसको प्रभाव पर्ने अनुमान गरिएको छ। सरकारले हाल उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। साथै, प्रभावित क्षेत्रको विस्तृत क्षति मूल्यांकन, पुनर्निर्माण योजना र पर्यटन व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत अघि बढाइएको मन्त्री पौडेलले जानकारी दिए।



































