काठमाडौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेसहित बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतलाई तीव्र बनाउन प्रधानमन्त्री बालेन्द्र शाहले राज्यका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राखेर तत्काल काम गर्न निर्देशन दिएका हुन्।
बैठकमा बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री शाहले आ–आफ्नो संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणमा जुट्न निर्देशन दिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।बाढीको प्रारम्भिक कारणबारे तिब्बतको जिलोङ काउन्टी क्षेत्रमा नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने अनुमान गरिएको छ।
विपद्पछिको तत्काल व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ पठाएको छ।यता, माथिल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव कम हुँदै गएसँगै बहाव क्रमशः घट्न थालेको बताइएको छ। तर प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीयको हताहतीबारे आएका विभिन्न सूचनाको आधिकारिक पुष्टि हुन बाँकी छ।





































