काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाउन अपिल गरेका छन्।


बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्रचण्डले नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।


विपद्को घडीमा संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल तथा नागरिक समाज एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगमा जुट्नुपर्ने उनको भनाइ छ।


प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल परिचालित हुँदै स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार, राहत र मानवीय सेवामा जुट्न निर्देशन दिएका छन्।