काठमाडौं । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्। बाढी प्रभावितको उद्धार तथा तल्लो तटीय क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि तत्काल कदम चाल्न बैठक बोलाइएको हो।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा बोलाएका छन्।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्रीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन्।

भोटेकोशीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ। बाढीले बस्ती, जलविद्युत् आयोजना तथा प्रहरी संरचनामा समेत क्षति पुर्‍याएको बताइएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।

बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्नसक्ने भएकाले उद्धार, सुरक्षा र सम्भावित जोखिमबाट नागरिकलाई जोगाउने विषयलाई सरकारले तत्काल प्राथमिकतामा राखेको छ।