काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले पछिल्लो ११ वर्षमा सर्वोच्च अदालतबाट भएका महत्वपूर्ण फैसलाको अध्ययन गर्ने भएको छ । बारले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा गठन गरेको फैसला अध्ययन समितिले १ वैशाख २०७२ देखि चैत मसान्त २०८२ सम्मका प्रकाशित तथा अप्रकाशित महत्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई आह्वान गरेको हो ।
समितिले संकलन भएका फैसलाको अध्ययन गरी प्रतिवेदन तयार पारेर सर्वोच्च अदालत बार एसोसिएसनलाई बुझाउनेछ । समितिमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली सहसंयोजक तथा प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत र कमलप्रसाद इटनी सदस्य छन् । निर्मलप्रसाद उपाध्याय सदस्य सचिव छन् ।
सर्वोच्च अदालतका फैसलामाथि समय–समयमा प्रश्न र आलोचना उठ्दै आए पनि फैसला अध्ययन गर्ने घोषणा व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्थामा यसपटक बारले समिति बनाएर अध्ययन अघि बढाएको हो ।
नेपाल कानून पत्रिकामा पनि २०७२ देखि २०८२ सम्मका सर्वोच्चका फैसला तथा नजिरहरू अभिलेखबद्ध छन् ।





































