काठमाडौं । रसुवा र नुवाकोट हुँदै बगेको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले बाढी प्रभावितको उद्धार तथा राहतलाई तत्काल तीव्र बनाउन सरकारसहित सबै निकायलाई आग्रह गरेका छन्।

उनले सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ–संस्था र आम नागरिकलाई समेत विपद्को घडीमा एकजुट भएर उद्धार र राहतमा जुट्न अपिल गरेका छन्।

भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बस्ती, पूर्वाधार तथा विभिन्न संरचनामा क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।

राष्ट्रपतिको अपिलसँगै अहिलेको मुख्य प्राथमिकता जोखिममा रहेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु बनेको छ।