बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले तीनै मन्त्रीलाई शपथ गराएका हुन् । शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि सहभागी थिए ।नेकपाबाट मन्त्री बनेका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि लुम्बिनीमा एमाले र नेकपाबीच सत्ता सहकार्य अघि बढेको थियो । सोहीअनुसार मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।पुनर्गठनसँगै यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि मन्त्रालयमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयमा सारिएको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी नेपालबाट दुई जना मन्त्री रहने सहमति भएको छ ।