काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा बढ्दै गएपछि पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकमा सवारी नचलाउन आग्रह गरेको छ। त्रिशूली नदीको बहाव बढेसँगै सडक तथा आसपासका क्षेत्रमा जोखिम बढेकाले सम्भावित दुर्घटना रोक्न आवागमन बन्द गरिएको हो।
प्रहरीले यात्रुलाई जोखिम मोलेर गन्तव्यतर्फ नजान र सुरक्षित स्थानमै रहन आग्रह गरेको छ। सडकको अवस्था सामान्य भएपछि मात्रै आवागमन खुलाइने जनाइएको छ।
सडकको अवस्थाबारे जानकारी लिन -प्रहरी कन्ट्रोल १०० वा ट्राफिक प्रहरी १०३ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
भोटेकोशीको बाढी त्रिशूली हुँदै चितवनतर्फ बढिरहेका बेला मुख्य राजमार्ग नै बन्द भएपछि काठमाडौं–चितवन आवागमनसमेत प्रभावित भएको छ।




































