पोखरा । सत्ताको खेलमा गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेले आफ्ना चार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।

एमाले गण्डकी संसदीय बोर्डको मंगलबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। एमालेबाट गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, भीमबहादुर कार्की र लक्ष्मणबहादुर पाण्डे मन्त्री थिए।

एमालेले सरकार छाडे पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तत्काल अल्पमतमा पर्ने अवस्था भने छैन। ५९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्छ। कांग्रेससँग २७ सांसद छन् भने राप्रपाका २ र नेसपाका १ सांसदको समर्थन कायमै रहे पाण्डे सरकारसँग बहुमत पुग्छ।

तर एमाले र नेकपाले नयाँ सरकार बनाउने प्रयास गरेमा राप्रपा निर्णायक बन्नेछ। एमालेसँग २२ र नेकपासँग सभामुखबाहेक ६ सांसद छन्। दुवै दल जोड्दा पनि बहुमत पुग्दैन। त्यसैले एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन अनिवार्य देखिएको छ।

राप्रपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरिसकेको छैन। यही कारण एमाले–नेकपाको नयाँ सत्ता समीकरण गण्डकीमा तत्कालै सरकार परिवर्तन गर्ने अवस्थामा पुगेको छैन।

एमाले बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले सरकार पुनर्गठनको तयारी गरेका छन्। नेसपाका फणिन्द्र देवकोटालाई मन्त्री बनाउने तयारी भइरहेको छ।

यसअघि कांग्रेस–एमालेबीच भएको सत्ता साझेदारीअनुसार पाण्डेले एमाले नेता अधिकारीलाई सत्ता हस्तान्तरण गर्ने सहमति थियो। तर केन्द्रमा एमाले र नेकपाबीच नयाँ सहकार्य बनेपछि त्यो समीकरण भत्किएको हो।

अब गण्डकीको सत्ता समीकरणमा मुख्य प्रश्न एउटै छ-राप्रपा कता जान्छ? राप्रपा कांग्रेससँगै रहे पाण्डे सरकार टिक्नेछ भने एमाले-नेकपाको पक्षमा गए खगराज अधिकारीका लागि सरकार गठनको बाटो खुल्नेछ।