काठमाडौं / तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरेस्थित भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।
बाढीका कारण कार्यालय भवन, भौतिक संरचना तथा आसपासका पूर्वाधारमा ठूलो क्षति पुगेको भन्सार विभागले जनाएको छ।भन्सार विभागका महानिर्देशक यमलाल भूसालका अनुसार कार्यालयमा कार्यरत ३७ कर्मचारीमध्ये हालसम्म १७ जनासँग मात्र सम्पर्क हुन सकेको छ भने बाँकी २० जना अझै सम्पर्कविहीन छन्। उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको र उपलब्ध माध्यमबाट अवस्थाबारे जानकारी संकलन भइरहेको उनले बताए।
भूसालका अनुसार अहिलेको प्रमुख प्राथमिकता सम्पर्कविहीन कर्मचारीहरूको खोजी, उनीहरूको सुरक्षाको सुनिश्चितता तथा बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन गर्नु हो। प्रारम्भिक विवरणअनुसार बाढीले भन्सार क्षेत्रका ठूला पुलहरू समेत बगाएको छ। हालै मर्मत गरिएका संरचना र अन्य सरकारी सम्पत्तिमा पनि क्षति पुगेको अनुमान गरिएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको विभागले जनाएको छ।



































