बाजुरा / बाजुराको ताम्सु पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरोबाट प्रभावित ५८ परिवारलाई राहत तथा सरसफाइ सामग्री वितरण गरिएको हो । २०८३ साउन २८ गते राति परेको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरो गएको थियो । पहिरोमा परी दुईवटा घर पुरिएका थिए । भने २० बर्षिया प्रतिक्षा थापाको मृत्यु भएको थियो । साथै दुई जना घाईते भएका थिए । विपद्पछि प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपाल, पीसविन नेपाल तथा महिला विकास मञ्च, बाजुराको सहकार्यमा राहत सामग्री उपलब्ध गराइएको हो ।
क्षतिको विवरण,प्रभावित परिवारको अवस्था र वडा तथा पालिकाको सिफारिसका आधारमा प्रभावित परिवार पहिचान गरि सामाग्री वितरण गरिएको हो । राहत स्वरुप पहिरो प्रभावित ५८ वटै परिवारलाई प्रति परिवार १६ प्रकारका सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री प्रदान गरिएको पिसवीन नेपालले जनाएका छ । साथै ५८ परिवार मध्ये गर्भवती महिला वा एक वर्षमुनिका बालबालिका भएका ८ परिवारलाई थप २० प्रकारका मर्यादित सामग्री वितरण गरिएको हो ।
सबैभन्दा बढी प्रभावित थप २ परिवारलाई मर्यादित सामग्रीसँगै किचेन सेट समेत उपलब्ध गराइएको थियो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा लगायतको सहभागिता रहेको थियो।पहिरो पश्चात् पुरै ताम्सु गाउँ जोखिममा परेको छ । प्रभावित घर परिवारलाई विभिन्न ठाउँबाट राहत सामाग्री उपलब्ध हुने क्रम जारी छ ।
पहिरो प्रभावितको त्रिपालमुनी बास
ताम्सु पहिरो प्रभावितको अहिले त्रिपालमुनी बास भएको छ । पहिरोको जोखिममा रहेका बस्तीका २३५ जना विस्थापित भएका छन् । विस्थापित परिवार अहिले राहतको पर्खाइमा छन् । नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाद्धारा पहिरो प्रभावितहरुलाई तत्काल अस्थायी रुपमा आवास ब्यवस्थापनका लागि ६१ थान त्रिपाल र २ थान टेन्ट उपलब्ध गराईएको छ ।
२ जना परिवारलाई तत्काल टेन्ट तयार गरी ब्यवस्थापन गरिएको छ । उच्च जोखिममा रहेको बस्तीका २३५ जना सडक, सहकारी भवन र विद्यालय छेउमा त्रिपाल टाँगेर बसिरहेको वडाध्यक्ष नन्दबहादुर थापाले बताए । उनका अनुसार, पहिरोबाट जनधनको क्षती हुँदा बर्षातको समयमा पिडित परिवारलाई समस्या भएको जानकारी दिए ।
पहिरोबाट प्रभावित बनेका ५८ परिवारको अन्नपात र लत्ताकपडा सुरक्षित राखे पनि घरहरु क्षति बनाएका परिवारलाई नगरपालिकाले खाद्यान्न, भाँडाकुाडा र ओढ्ने ओछ्याउने कपडा उपलब्ध गराएको हो।अहिले कसैलाई सहकारी भवन,विद्यालय तथा सडकमा त्रिपाल टाँगेर बसाईएका छन् । पहिरोमा पुरिएर मृत्यु भएकी २० बर्षीया प्रतिक्षा थापाको परिवारलाई नगरपालिकाबाट दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको नगरप्रमुख कर्णबहादुर थापाले बताए ।
ताम्सु गाउँको विभिन्न भागमा पहिरो गएकाले स्थानीयले गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाई छ । जिल्लामा लगातार वर्षा भईरहेकोले सबैलाई सुरक्षति हुन आग्रह समेत गरिएको छ ।






































