काठमाडौं /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यसम्बन्धी इरानसँगको सम्भावित सम्झौतामा ओमानले अमेरिकी हितविपरीत हस्तक्षेप गरे कडा सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्।
फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले इरानसँगको वार्ताबारे चर्चा गर्दै अमेरिकाले आफ्नो रणनीतिमा कुनै अवरोध स्वीकार नगर्ने बताए। उनले इरानले तनाव कम गर्न सकारात्मक संकेत दिनुपर्ने उल्लेख गर्दै आवश्यक परे कठोर कदम चाल्न अमेरिका पछि नपर्ने चेतावनी दिए। अमेरिका र इरानबीच युद्धको जोखिम कम गर्न गरिएको ६० दिने समझदारीको अवधि सकिन लागेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
यद्यपि उनले इरानमाथि थप दबाब सिर्जना गर्ने विषयमा आफू हतारमा नरहेको स्पष्ट पारे। ट्रम्पले इरानविरुद्ध अमेरिकी नौसैनिक नाकाबन्दी कायम रहेको दाबी गर्दै त्यसले तेहरानमाथि आर्थिक दबाब बढाएको बताए। साथै, अमेरिकासँग पर्याप्त सैन्य क्षमता रहेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा अत्याधुनिक हतियारको ठूलो हिस्सा युक्रेनलाई उपलब्ध गराइएको टिप्पणी पनि गरे।
यता, इरान र ओमानबीच होर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र निर्माणका लागि वार्ता जारी छ। दुवै पक्षले प्राविधिक छलफलमार्फत संयुक्त ढुवानी मार्गको प्रारूपसमेत तयार पारेका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भए पनि विषय संवेदनशील भएकाले सहमतिमा पुग्न समय लागेको हो। उनले केही बाह्य पक्षको हस्तक्षेपले पनि प्रक्रिया प्रभावित भएको बताए।
विश्वकै महत्वपूर्ण तेल तथा ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा उत्पन्न हुने कुनै पनि तनावले विश्वव्यापी ऊर्जा आपूर्ति र कच्चा तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यस क्षेत्रको पछिल्लो कूटनीतिक गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।






































