काठमाडौं / नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ ।
मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले सडकखण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र आह्वान गरेपछि सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको स्थलगत भ्रमण गराउनुका साथै प्रस्तावपूर्व छलफलसमेत गरेको हो ।एमसीए–नेपालका अनुसार प्रस्तावपूर्वको छलफलमा विभिन्न निर्माण कम्पनीका ३१ जना प्रतिनिधिको सहभागिता थियो । त्यसमध्ये १८ जना प्रतिनिधिले अनलाइनमार्फत तथा १३ जनाले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए ।
कार्यक्रमका क्रममा सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको अवस्था, प्रस्तावित मर्मत कार्य, बोलपत्र प्रक्रिया तथा आवश्यकताबारे जानकारी दिइएको थियो । साथै सहभागीले राखेका विभिन्न जिज्ञासा तथा बोलपत्रसम्बन्धी प्रश्नको समेत स्पष्ट पारिएको एमसीए–नेपालले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजनाको प्रमुख कार्यमध्ये एक हो ।
आवधिक मर्मतपछि सडकखण्डको विद्यमान अवस्था सुधार हुनुका साथै यसको दीर्घकालीन कार्यसम्पादन तथा क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्छन् । भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा पर्ने यो सडकखण्डमा वर्षायाममा पहिरो तथा सडक क्षतिका कारण यातायात प्रभावित हुने गरेको छ ।
त्यसैले सडकको नियमित तथा आवधिक मर्मतलाई महत्त्वपूर्ण मानिएको छ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत कार्यक्रमले सडकको तत्कालीन सुधारसँगै दीर्घकालीन रूपमा सडक पूर्वाधारको टिकाउपन र कार्यक्षमता बढाउने लक्ष्य राखेको छ ।






































