काठमाडौं / नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् ।

ब्रिटिश गोर्खाज नेपाल  (बीजीएन)को  मन्दिर परिसरमा आज विशेष पूजा आयोजना गरि नागपञ्चमी मनाइएको हो । पूजाको नेतृत्व बीजीएनका गोर्खा मेजर मेजर किरण पुन एमभीओ र बीजीएन पण्डित झबिन्द्र घिमिरेले गरेका थिए । पूजामा बीजीएनका अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

हिन्दू धार्मिक मान्यताअनुसार नाग अर्थात् सर्प देवताको पूजा गर्दा घरपरिवारको सुरक्षा, सुख–शान्ति तथा कल्याण हुने विश्वास गरिन्छ । नाग पञ्चमी धार्मिक पर्वसँगै पर्यावरणीय महत्व बोकेको पर्वका रूपमा समेत लिइन्छ । नाग भगवान अर्थात सर्पप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने लामो समयदेखिको परम्परालाई यस पर्वले निरन्तरता दिएको छ ।

बीजीएनले सामाजिक सञ्जाल फेसबुक मार्फत नाग पञ्चमीको अवसरमा मन्दिरमा पूजा गरिएको जानकारी दिँदै पूजामा सहभागी अधिकृत तथा कर्मचारीहरूको तस्बिरसमेत सार्वजनिक गरेको छ ।