काठमाडौं / नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ ।
श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै निधन भएको थियो । परिवारका केही सदस्यहरु नेपाल बाहिर रहेकाले उनीहरु आइपुगेपछि मंगलबार विहान ९ बजे शव यात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने उनी निकट पत्रकार केके मानन्धरले जानकारी दिए ।
नेपाल भाषा परिषद्बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका थिए । श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषामा उनका एक दर्जनभन्दा धेरै कृति प्रकाशित छन् ।
उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो ।






































