काठमाडौं / उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज र तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले सिंहदरबारमा खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित उद्योग र गृह मन्त्रालयबीचको स्थानमा स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री कक्ष उद्घाटन गरेकी हुन्। बिक्री कक्षमा खाद्यान्न तथा दैनिक उपभोगमा आवश्यक करिब १२४ प्रकारका सामग्री राखिएको कम्पनीले जनाएको छ। सिंहदरबार आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत यहाँबाट आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।

बजारमा खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने गरेको भन्दै सरकारले सरकारी स्वामित्वको कम्पनीमार्फत सुलभ मूल्यमा वस्तु उपलब्ध गराउने प्रयास थालेको हो।उद्घाटन कार्यक्रममा मन्त्री यादवले उपभोक्तालाई गुणस्तरीय वस्तु सहज र उचित मूल्यमा उपलब्ध गराउनु सरकारको प्राथमिकता हुनुपर्ने बताइन्। उनले बजारमा मूल्य नियन्त्रण तथा उपभोक्तामाथिको आर्थिक भार घटाउने गरी काम गर्नुपर्नेमा जोड दिइन्।

सरकारी बिक्री कक्ष सञ्चालनले बजारमा प्रतिस्पर्धा बढाउने र उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।