काठमाडौं / नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग विस्तार हुँदै जाँदा हरित यातायात, प्रविधि विकास र विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे केन्द्रित बहस तीव्र बनेको छ।
यही विषयलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नीति, पूर्वाधार, प्रविधि हस्तान्तरण तथा लगानी वातावरण सुधारका विषयमा विभिन्न क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले आफ्नो धारणा राखेका छन्।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पोको पहिलो दिन मंगलबार २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्। एक्स्पोमा विभिन्न कम्पनीहरूले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् भने आयोजकले प्रदर्शनी अवधिभर करिब डेढ लाख दर्शक सहभागी हुने अपेक्षा गरेको छ।
उद्घाटन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नेपालमा मोबिलिटी क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेको बताउँदै यसलाई सवारी बिक्रीको सीमित बजारका रूपमा नभई प्रविधि, रोजगारी, औद्योगिक विकास र लगानीसँग जोडिएको क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले लगानीकर्ताको विश्वास बढाउन स्थिर र दीर्घकालीन नीतिगत व्यवस्था अपरिहार्य रहेको धारणा राखिन्।
एक्स्पोअन्तर्गत आयोजित ‘इन्भेष्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडीआई) : मोबिलिटी–फ्युल्ड इकोनोमिक ग्रोथ’ विषयक छलफलमा सहभागी वक्ताहरूले नेपालमा हरित ऊर्जाको उपलब्धता, विद्युतीय सवारीको बढ्दो प्रयोग र चार्जिङ पूर्वाधार विस्तारले विदेशी लगानी आकर्षित गर्ने आधार बलियो बन्दै गएको बताए। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। सत्येन्द्र तिमिल्सिनाले विश्वभर हरित अर्थतन्त्रमा लगानी बढिरहेका बेला नेपालले स्वच्छ ऊर्जामा आधारित उद्योग र मोबिलिटी क्षेत्रमार्फत त्यसको लाभ लिन सक्ने बताए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले मोबिलिटी क्षेत्रलाई ऊर्जा, वित्त, प्रविधि र पूर्वाधारसँग जोडिएको समग्र आर्थिक प्रणालीका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। व्यवसायीहरूका अनुसार विद्युतीय सवारीको बजार विस्तारसँगै चार्जिङ स्टेशन, ब्याट्री व्यवस्थापन, एसेम्बली उद्योग, स्पेयर पार्ट्स उत्पादन तथा दक्ष जनशक्ति विकासमा नयाँ लगानीका अवसर सिर्जना भइरहेका छन्। नीतिगत स्पष्टता र स्थायित्व कायम हुन सके नेपाल क्षेत्रीय स्तरमै हरित मोबिलिटी लगानीको आकर्षक गन्तव्य बन्न सक्ने उनीहरूको विश्वास छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई राजस्व संकलनको माध्यममा मात्र सीमित नगरी औद्योगिक विस्तार र आर्थिक विकाससँग जोड्नुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान दिइरहेको उल्लेख गर्दै नयाँ लगानीले आर्थिक गतिविधिलाई थप गति दिने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नयाँ सवारीसाधन प्रदर्शनमा मात्र सीमित नभई हरित यातायात, प्रविधि हस्तान्तरण, औद्योगिक विकास र विदेशी लगानी प्रवर्द्धनका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने साझा मञ्चका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।






































