काठमाडौं। करिब चार महिनादेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अन्ततः पुनः सञ्चालनको तयारीमा जुटेको छ। समाज कल्याण परिषद्ले लगाएको ताला बुधबार खोलिएसँगै पुस्तकालय फेरि पाठकका लागि खुल्ने बाटो खुलेको हो।
पुस्तकालयले परिषद्लाई करिब ३ करोड रुपैयाँ भाडा बक्यौता तिर्न बाँकी रहेको कारण गत ११५ दिनअघि तालाबन्दी गरिएको थियो। तर ज्ञान र शिक्षासँग जोडिएको संस्थाको महत्वलाई ध्यानमा राख्दै बक्यौता समस्या तत्काल समाधान नभए पनि परिषद्ले ताला खोल्ने निर्णय गरेको जनाएको छ।
हाल पुस्तकालयभित्र लामो समयदेखि थन्किएका पुस्तकहरूको व्यवस्थापन, सरसफाइ तथा अन्य प्रशासनिक तयारी तीव्र रूपमा भइरहेको छ। पुस्तकालय प्रशासनका अनुसार यी काम पूरा गर्न केही दिन लाग्ने भएकाले आगामी साउन २५ गतेदेखि सर्वसाधारण पाठकका लागि नियमित सेवा पुनः सुरु गरिनेछ।
पुस्तकालय खुल्ने निर्णयसँगै विद्यार्थी, अनुसन्धानकर्ता तथा पुस्तकप्रेमीहरू उत्साहित भएका छन्।






































