धनुषा । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको पुष्टि भएको जानकारी दिए । मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा समेत सूचना र समाचार सम्प्रेषण भइरहेको छ ।
यो सूचना सत्य नभएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आज विज्ञप्ति समेत जारी गदै कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्तिको भएको स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने, ‘मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो । उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ । घटनाका सम्बन्धमा कुकुरसहितको अनुसन्धान टोली अनुसन्धानका लागि खटिएको छ ।’
प्रहरीले यो घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै उनी बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने गरेको र घटना विशुद्ध आपराधिक व्यक्तिबाट भएको बताएको छ ।
घटनामा संलग्न जो–सुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।






































