काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको परीक्षामा १७ हजारभन्दा बढी विद्यार्थी सहभागी भइरहेका बेला परीक्षा आचारसंहितामा कडाइ गरेको छ। विश्वविद्यालयले नक्कल, चिट, मोबाइल वा अन्य निषेधित सामग्री प्रयोग गरेको पाइए परीक्षा तत्काल रद्द हुने मात्रै होइन, कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको हो।
त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसे ले परीक्षा निष्पक्ष र मर्यादित बनाउन सबै विद्यार्थीलाई नियम पालना गर्न आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी वा परीक्षा कर्मचारीलाई जानकारी गराउन अनुरोध गरेका छन्।
विश्वविद्यालयले जारी गरेको ६ बुँदे निर्देशनअनुसार परीक्षार्थीले वैध प्रवेशपत्र अनिवार्य ल्याउनुपर्ने, तोकिएको सिटमै बस्नुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना परीक्षा हल छाड्न नपाइने व्यवस्था गरिएको छ। परीक्षा सुरु भएको एक घण्टाभित्र बाहिर निस्कन पनि रोक लगाइएको छ।
यस्तै, मोबाइल फोन, स्मार्टवाच, चिट, पुस्तक वा अन्य इलेक्ट्रोनिक उपकरण परीक्षा हलभित्र लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूलाई नक्कल गराउने, अर्को व्यक्तिको सट्टा परीक्षा दिने, परीक्षा अवरुद्ध गर्ने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जो–कोहीमाथि विश्वविद्यालयको नियमअनुसार कडा कारबाही गरिने त्रिविले स्पष्ट पारेको छ। त्रिविले परीक्षा मर्यादित, सुरक्षित र निष्पक्ष बनाउन सबै परीक्षार्थीलाई नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।





































