काठमाडौं । आइतबार अपराह्न फेसबुकको ब्राउजर संस्करणमा समस्या देखिएपछि धेरै प्रयोगकर्ताले आफ्नो खाता खोल्न नसकेको गुनासो गरेका छन्। वेबसाइटमार्फत फेसबुक प्रयोग गर्ने क्रममा ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको प्रयोगकर्ताहरूले बताएका छन्।
फेसबुकले प्रयोगकर्तालाई देखाएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता हाल उपलब्ध नभएको र समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गरिएको छ। साथै, केही मिनेटपछि पुनः प्रयास गर्न पनि सुझाव दिइएको छ।
यस समस्यासँगै डाउनडिटेक्टर वेबसाइटमा ‘फेसबुक डाउन’ सम्बन्धी खोजी र रिपोर्टहरूको संख्या आइतबार दिउँसो साढे १ बजेपछि एक्कासि बढेको देखिएको छ। यसले फेसबुकको सेवा विश्वका विभिन्न स्थानमा प्रभावित भएको संकेत गरेको छ।
हाल समस्या केवल ब्राउजर संस्करणमा बढी देखिएको जनाइएको छ। मोबाइल एपमार्फत फेसबुक प्रयोगमा पनि केही प्रयोगकर्ताले समस्या अनुभव गरेको उल्लेख गरेका छन्, तर सबै प्रयोगकर्तामा समान समस्या देखिएको पुष्टि भइसकेको छैन।
फेसबुकको मूल कम्पनी मेटाले समस्याबारे विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। प्राविधिक समस्या समाधानका लागि कम्पनीले काम गरिरहेको अनुमान गरिएको छ।
सामाजिक सञ्जाल दैनिक सञ्चार र जानकारी आदानप्रदानको प्रमुख माध्यम भएकाले फेसबुकमा आएको यस प्रकारको अवरोधले प्रयोगकर्ताहरूमा चासो र अन्योलता बढाएको छ।




































