काठमाडौं / फिफा विश्वकप फाइनलअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अर्जेन्टिना टोलीलाई शुभकामना दिँदै आफ्नो समर्थन रहेको बताएका छन्।

इजरायलका लागि अर्जेन्टिनाका राजदूत तथा रब्बी शिमोन एक्सेल वाहनिशसँगको भेटमा नेतन्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईको शुभकामना सन्देश प्राप्त गरेका थिए। त्यसको प्रत्युत्तरमा उनले मिलेईलाई आफ्नो ‘सच्चा मित्र’ भन्दै अर्जेन्टिना र त्यसका जनताप्रति समर्थन व्यक्त गरेका हुन्।

राजदूत वाहनिशका अनुसार नेतन्याहुले भने, “हाभियर, तपाईं मेरो सच्चा मित्र हुनुहुन्छ। हामी अर्जेन्टिनालाई समर्थन गर्छौं, भोलिको विश्वकप फाइनलमा पनि शुभकामना छ।”

आइतबार हुने स्पेन–अर्जेन्टिना विश्वकप फाइनललाई खेलसँगै अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भसँग पनि जोडेर हेरिएको छ। इजरायलप्रति स्पेन र अर्जेन्टिनाको फरक कूटनीतिक दृष्टिकोणका कारण यो प्रतिस्पर्धाले अतिरिक्त चर्चा पाएको हो।

यसैबीच, सामाजिक सञ्जालमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई लक्षित गर्दै विभिन्न आलोचनात्मक तथा आधारहीन पोस्टहरू पनि फैलिएका छन्। यद्यपि ती दाबीहरूको स्वतन्त्र पुष्टि भएको छैन।