काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक जित हात पारेपछि अर्जेन्टिना नयाँ विवादमा तानिएको छ।
खेलपछि मिडफिल्डर जियोभानी लो सेल्सोले ‘माल्भिनास (फकल्याण्ड) अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेपछि फिफाले टोलीमाथि अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना देखिएको छ। द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा सम्पन्न खेलपछि लो सेल्सोले उक्त ब्यानर डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केही समय प्रदर्शन गरेका थिए।
फकल्याण्ड टापु, जसलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गर्छ, बेलायतको नियन्त्रणमा रहेको क्षेत्र हो र दुवै देशबीच त्यसको सार्वभौमिकतालाई लिएर दशकौँ देखि विवाद कायम छ। फिफा र अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (IFAB) का नियमअनुसार खेल वा खेलसँग सम्बन्धित कार्यक्रममा राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश, झण्डा वा ब्यानर प्रदर्शन गर्न निषेध गरिएको छ। नियम उल्लङ्घन भएमा सम्बन्धित खेलाडी, टोली वा राष्ट्रिय फुटबल संघमाथि अनुशासनात्मक कारबाही हुन सक्ने व्यवस्था छ।
सन् १९८२ मा फकल्याण्ड टापुको विषयमा बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो। करिब दुई महिना चलेको उक्त युद्धमा बेलायत विजयी भएको थियो भने दुवै पक्षका सयौँ सैनिकले ज्यान गुमाएका थिए। यही ऐतिहासिक विवादसँग जोडिएको सन्देश सार्वजनिक भएपछि घटना थप चर्चामा आएको हो।
यता अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समार्फत लो सेल्सोको समर्थन गर्दै ‘फकल्याण्ड अर्जेन्टिनाकै हो’ भन्ने धारणा दोहोर्याएकी छन्।
विवादबीच मैदानमा भने अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले पराजित गर्यो। इंग्ल्यान्डका एन्थोनी गोर्डनले पहिलो गोल गरे पनि एन्जो फर्नान्डेजले बराबरी गोल फर्काए। त्यसपछि इन्जुरी समयमा कप्तान लियोनेल मेसीको क्रसमा लाउटारो मार्टिनेजले निर्णायक हेडर गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्याए।
अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।






































