काठमाडौं । केही साताअघि मात्र युद्धविराम भएको पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ। अमेरिका र इरानबीच पुनः सैन्य आक्रमण सुरु भएसँगै खाडी क्षेत्रमा रहेका १७ लाखभन्दा बढी नेपालीको सुरक्षाप्रति नेपाल सरकार थप सतर्क बनेको छ। परराष्ट्र मन्त्रालयले नेपालीको अवस्था हाल सामान्य रहेको जनाएको छ भने सबै नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। युद्धले सुरक्षा मात्र होइन, नेपालको अर्थतन्त्र, रोजगारी र विप्रेषणमा समेत असर पार्ने जोखिम देखिएको छ। 

पश्चिम एसियामा फेरि युद्धको खतरा चुलिएको छ।अमेरिकाले इरानका विभिन्न सैन्य तथा रणनीतिक स्थानमा हवाई आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डालाई निशाना बनाउँदै प्रत्याक्रमण गरिरहेको छ। दुवै देशबीचको तनाव फेरि युद्धमा परिणत भएसँगै विश्वकै सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक पश्चिम एसियाको सुरक्षा अवस्था थप जटिल बनेको छ।

यही तनावका बीच त्यहाँ रोजगारी, अध्ययन र विभिन्न पेशामा रहेका १७ लाख २७ हजारभन्दा बढी नेपालीको सुरक्षाप्रति नेपाल सरकारको चासो बढेको छ।

परराष्ट्र मन्त्रालयले पश्चिम एसियास्थित नेपाली नियोगहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै हालसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार त्यहाँको अवस्थालाई नजिकबाट निगरानी गरिँदै आवश्यक परे तत्काल उद्धार र सहायताका लागि तयारी अवस्थामा रहेको छ।

नेपालले युद्ध समाधानको माध्यम सैन्य शक्ति नभई वार्ता र कूटनीति भएको स्पष्ट गर्दै विश्व ऊर्जा आपूर्तिको मुख्य नाकाका रूपमा रहेको स्ट्रेट अफ होर्मुज जलमार्ग कुनै अवरोधबिना सञ्चालन हुनुपर्ने आफ्नो अडान दोहोर्‍याएको छ।

सरकारी तथ्यांकअनुसार युएईमा करिब ७ लाख, साउदी अरेबियामा ३ लाख ८४ हजार, कतारमा ३ लाख ५७ हजार, कुवेतमा १ लाख ७५ हजार, ओमान, बहराइन, इराक, इजरायल, लेबनान, साइप्रस, इजिप्ट र इरानमा समेत हजारौं नेपाली कार्यरत छन्।

युद्धको जोखिम बढेपछि विशेषगरी कुवेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न, अफवाहमा विश्वास नगर्न, युद्धसम्बन्धी फोटो–भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न र साइरन बजे सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

यसअघि युद्धसम्बन्धी सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेका कारण केही नेपाली कानुनी समस्यामा परेकाले दूतावासले थप सावधानी अपनाउन सचेत गराएको हो। यता, युएईस्थित नेपाली दूतावासले भने त्यहाँ उद्योग, व्यापार, बैंकिङ र हवाई सेवा नियमित सञ्चालनमा रहेको तथा जनजीवन सामान्य रहेको जनाएको छ।

यसअघि पश्चिम एसियामा भएको युद्धको प्रभावबारे नेपाल सरकारले गरेको अध्ययनले युद्ध लम्बिए विप्रेषणमा गिरावट, वैदेशिक रोजगारीमा संकट, इन्धन र ग्यासको मूल्यवृद्धि, पर्यटनमा कमी, व्यापारमा सुस्ती र महँगी बढ्ने निष्कर्ष निकालेको थियो।, अध्ययनले युद्धको प्रत्यक्ष असर नेपालका लाखौं विप्रेषणमा आश्रित परिवार, औद्योगिक उत्पादन, कृषि, लगानी, श्रम बजार र समग्र अर्थतन्त्रमा पर्न सक्ने चेतावनीसमेत दिएको छ।

अहिलेका लागि पश्चिम एसियामा रहेका नेपाली सुरक्षित रहेको सरकारी भनाइ छ। तर युद्ध लम्बिए त्यसको असर केवल युद्धग्रस्त क्षेत्रमै सीमित रहने छैन। लाखौं नेपाली श्रमिक, उनीहरूको परिवार, विप्रेषण र नेपालको अर्थतन्त्रसमेत प्रत्यक्ष प्रभावित हुन सक्ने भएकाले सरकारले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।