काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका आठ प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बीपी राजमार्ग, कान्तिलोकपथ, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन, ताङतिङ सडक र रिडी–वामी सडक प्रभावित भएका छन्।

यद्यपि, पर्साको हुलाकी राजमार्ग भने बाढीको बहाव घटेपछि पुनः सञ्चालनमा आएको छ।

प्रहरीले प्रभावित सडकमा अनावश्यक यात्रा नगर्न, यात्रा अघि सडकको अवस्था बुझ्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। लगातारको वर्षासँगै थप पहिरो र सडक अवरोधको जोखिम कायम रहेको छ।