काठमाडौं / ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका स् नयाँ सरकार र चाल्नुपर्ने कदमहरू‘ विषयक राष्ट्रिय संवाद कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । 

इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर/स्टार्टअप हब नेपाल–वल्र्ड ट्रेड ग्रुपको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा रास्वपाका केही नेताहरु, उद्यमी, स्टार्टअप संस्थापक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार, शिक्षाविद् तथा उद्योग क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा आर्थिक रूपान्तरणका लागि स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई विकासको प्रमुख आधार बनाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले रोजगारी सिर्जना, लगानी आकर्षण, निजी क्षेत्रको प्रवद्र्धन तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । छलफलका क्रममा स्टार्टअपमैत्री नीति निर्माण, लगानी वातावरण सुधार, कर प्रणालीलाई सहज बनाउने, वित्तीय पहुँच विस्तार गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।

आयोजकका अनुसार कार्यक्रम केवल छलफलमा सीमित नभई सरकारलाई व्यवहारिक तथा कार्यान्वयनयोग्य सुझाव उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा उठेका सुझावहरूलाई संकलन गरी सम्बन्धित निकायमा सिफारिसका रूपमा प्रस्तुत गरिने जनाइएको छ । आन्ट्रप्रेनर्स क्लवका अध्यक्ष तथा स्टार्टअप हब नेपालका फाउन्डर डा. शम्भु पोखरेलले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको वातावरण निर्माण गर्न यस्ता संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

साथै युवालाई उद्यमशीलतामार्फत राष्ट्र निर्माणमा जोड्दै नेपाललाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, वित्तीय संस्था, शैक्षिक क्षेत्र तथा विकास साझेदारबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।