काठमाडौं। अब सरकारी कर्मचारीको हरेक चेतावनी डिजिटल रेकर्डमा रहने भएको छ।

अनुशासनहीन कर्मचारीलाई अब मौखिक चेतावनीमै उन्मुक्ति नहुने भएको छ। सरकारले कर्मचारीको आचरण निगरानी गर्न नयाँ डिजिटल प्रणाली लागू गरेको छ। अबदेखि सरकारी कर्मचारीले समय पालना नगरे, माथिल्लो निकायको निर्देशन नमाने वा काममा ढिलासुस्ती गरे त्यसको विवरण स्थायी डिजिटल रेकर्डमा राखिनेछ।

राष्ट्रिय किताबखाना र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा सुरु गरेको प्रणालीमार्फत कारबाही र चेतावनीको विवरण कर्मचारीको पीआईएस  मा प्रविष्ट गरिनेछ।

यसअघि चेतावनीको औपचारिक अभिलेख नहुँदा अनुशासनहीन कर्मचारीले पनि सरुवा, बढुवा र पुरस्कारमा समान अवसर पाउने अवस्था थियो। अब भने त्यस्तो अवस्था अन्त्य गर्ने सरकारको तयारी छ। सरकारको विश्वास छ—डिजिटल निगरानीले कर्मचारीको अनुशासन सुधार्नेछ, जवाफदेहिता बढाउनेछ र कार्यसम्पादनलाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।