काठमाडौं। सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विरोध जारी रहँदा राप्रपाले सत्ता पक्ष र विशेषगरी रास्वपालाई निशाना बनाएको छ। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सीमा जस्तो संवेदनशील विषयमा मौन बस्नेहरूलाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै दल वा व्यक्ति हुन नसक्ने बताइन्। प्रधानमन्त्रीले संसद्भन्दा दलको महाधिवेशनलाई प्राथमिकता दिएको आरोप लगाउँदै उनले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राखिन्।
ओलीले सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई सार्वजनिक रूपमा सच्याउन, संसद्को अभिलेखबाट हटाउन र स्वयं सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिन माग गरिन्। साथै, सत्ता पक्ष र रास्वपाको मौनतालाई इतिहासले कठोर रूपमा मूल्याङ्कन गर्ने चेतावनीसमेत दिइन्।
सीमा विवादमा प्रधानमन्त्रीको जवाफको माग चर्किँदै जाँदा संसद्मा राजनीतिक आरोप–प्रत्यारोप पनि थप तीव्र बन्दै गएको छ।






































