काठमाडौं। प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी संसद् अवरोधबीच अब सभामुखको भूमिकामाथि पनि प्रश्न उठेको छ। नेपाली कम्युनिस्ट पार्टीले विपक्षीलाई आन्दोलनको शैली फेर्न आग्रह गर्ने सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन किन निर्देशन नदिएको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद प्रमेशकुमार हमालले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीसँग स्पष्टीकरण मागिरहेका विपक्षीलाई आन्दोलनको शैली फेर्न आग्रह गर्नुको सट्टा प्रधानमन्त्रीलाई सदनमा बोलाएर जवाफ दिन रुलिङ गर्नुपर्ने उनको भनाइ छ।

नेकपाले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे तथ्य प्रस्तुत गर्न वा माफी माग्नुपर्ने अडान दोहोर्याएको छ। प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म संसद्मा विरोध जारी रहने चेतावनी पनि दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सुरु भएको विवाद अब सभामुखको भूमिकामाथि समेत केन्द्रित हुन थालेको छ। यसले संसद्को गतिरोध अझै लम्बिने संकेत देखिएको छ।