काठमाडौं । सरकारी कर्मचारीको कार्यशैली थप अनुशासित र उत्तरदायी बनाउन सरकारले नयाँ आचारसंहिता लागू गरेको छ। अब कार्यालय समयमा बाहिर निस्कँदा अनुमति मात्र होइन, लगबुकमा विवरण पनि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेका छन्। यसमा कार्यालय समयको कडाइदेखि सामाजिक सञ्जालको प्रयोगसम्म स्पष्ट नियम तय गरिएको छ।
अब कार्यालय समयमा बाहिर जानुअघि सम्बन्धित अधिकारीको अनुमति लिनुपर्नेछ भने कहिले, किन र कति समयका लागि बाहिर गएको हो भन्ने विवरण लगबुकमा अनिवार्य रूपमा लेख्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिताले सरकारी नीति, निर्णय र कार्यक्रमप्रति सार्वजनिक रूपमा अविश्वास पैदा हुने अभिव्यक्ति दिन, कार्यालय पोशाकमा टिकटक वा अन्य सामाजिक सञ्जालका भिडियो बनाउन, सेवाग्राहीसँग कार्यालयबाहिर कामको नाममा भेटघाट गर्न तथा स्वीकृतिबिनै उपहार वा आतिथ्यता स्वीकार गर्न पनि रोक लगाएको छ।
यस्तै, कर्मचारीले सेवाग्राहीप्रति भेदभाव नगर्ने, सरकारी सम्पत्ति र गोप्य सूचना सुरक्षित राख्ने तथा समयमै जिम्मेवारी पूरा गर्नुपर्ने दायित्वसमेत स्पष्ट गरिएको छ।
सरकारको विश्वास छ, नयाँ आचारसंहिताले सरकारी सेवामा अनुशासन, पारदर्शिता र जवाफदेहिता बढाउनेछ। अब कर्मचारीको काम मात्रै होइन, सार्वजनिक व्यवहार र सामाजिक सञ्जालको गतिविधिसमेत निगरानीको दायरामा आउने भएको छ।






































