काठमाडौं । नेपालको परराष्ट्र नीतिलाई लिएर नयाँ राजनीतिक बहस सुरु भएको छ। पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले दलाई लामासम्बन्धी पछिल्ला गतिविधिप्रति गम्भीर प्रश्न उठाएका छन्।

श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक सरकारी अनुमतिमा दलाई लामाको जन्मोत्सव मनाइनु, विदेशी कूटनीतिज्ञहरूको सहभागिता र दलाई लामाको उत्तराधिकारी नेपालबाट घोषणा हुन सक्ने चर्चा सामान्य विषय होइन। उनका अनुसार यी घटनाले नेपालको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति कमजोर हुँदै गएको आशंका बलियो बनाएको छ।

उनले सरकारले कुनै पनि शक्ति राष्ट्रको रणनीतिक स्वार्थतर्फ नझुकी राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतालाई केन्द्रमा राख्नुपर्ने चेतावनी दिएका छन्। दलाई लामासम्बन्धी गतिविधिलाई लिएर उठेको यो बहसले अब नेपालको परराष्ट्र नीतिमाथि नयाँ राजनीतिक तरंग सिर्जना गर्ने संकेत देखिएको छ।