काठमाडौं।  संविधान संशोधनको बहस फेरि राजनीतिक केन्द्रमा पुगेको छ। नेपाली कांग्रेसले आज संशोधनबारे आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्दै आगामी राजनीतिक बहसको दिशा तय गर्ने तयारी गरेको छ।

नेपाली कांग्रेसले संविधान संशोधनका एजेन्डालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो। पार्टीका सभापति गगनकुमार थापा ले आज दिउँसो ललितपुरस्थित केन्द्रीय कार्यालयबाट कांग्रेसको संविधान संशोधनसम्बन्धी दृष्टिकोण सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा वरिष्ठ कानुनविद् र अधिवक्ताहरू सम्मिलित विज्ञ समिति गठन गरेको थियो। सोही समितिले तयार पारेका सुझावका आधारमा पार्टीले आफ्नो आधिकारिक दस्तावेज सार्वजनिक गर्न लागेको हो।

यो दस्तावेजले संविधानका कुन(कुन व्यवस्था संशोधन गर्नुपर्ने, किन गर्नुपर्ने र कांग्रेसको प्राथमिकता के हो भन्ने विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ।संविधान संशोधन लामो समयदेखि राजनीतिक बहसको विषय रहँदै आएको छ। कांग्रेसले सार्वजनिक गर्ने यो धारणाले अब संसद र राष्ट्रिय राजनीतिमा नयाँ बहसको आधार तयार पार्ने अनुमान गरिएको छ।