काठमाडौं। एमाले उपनेता पद्मा अर्यालले रास्वपा नेतृत्वको सरकारले ‘जान्नेलाई छान्ने’ आफ्नै नारा बिर्सेर चुनावमा पराजित आफ्ना निकट व्यक्तिहरूलाई राजनीतिक नियुक्ति बाँड्न थालेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अघिल्लो सरकारले गरेका नियुक्ति अध्यादेशमार्फत हटाएको वर्तमान सरकारले अहिले भने चुनावमा पराजित आफ्ना पक्षधरलाई धमाधम नियुक्ति गरिरहेको दाबी गरिन्।
अर्यालले रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा व्यवहारमा ‘जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने’ मा परिणत भएको टिप्पणी गरिन्।
सरकारले सुशासनको नारा दिए पनि सय दिनको अवधिमा त्यसको अनुभूति नभएको उनको आरोप थियो। आफ्ना मानिसलाई छानबिनको दायराबाहिर राख्ने प्रवृत्तिले सरकारको नियतमै प्रश्न उठेको भन्दै उनले सुशासनको नाममा केवल राजनीतिक तमासा भइरहेको दाबी गरिन्।






































