काठमाडौं। नेपाली कांग्रेसले वर्षौंदेखि चल्दै आएको विषयगत विभाग गठन गर्ने अभ्यास अन्त्य गरेको छ। अब विभागले गर्दै आएका सबै नीतिगत काम उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत सञ्चालन हुने भएका छन्।

नेपाली कांग्रेसले आफ्नो संगठनात्मक संरचनामा ठूलो परिवर्तन गरेको छ। अब केन्द्रदेखि तल्लो तहसम्म विभाग गठन नहुने भएको छ। विभागको सट्टा नीति प्रतिष्ठानमार्फत पार्टीका नीतिगत काम अघि बढाइने कांग्रेसले जनाएको छ। कांग्रेसले विभाग गठन गर्ने पुरानो व्यवस्था अन्त्य गर्दै सबै नीतिगत जिम्मेवारी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई दिएको छ।

सभापति गगन थापाका अनुसार उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले अब पार्टीका विषयगत नीति, अध्ययन, बहस, प्रशिक्षण र धारणा निर्माणको काम गर्नेछ।

प्रतिष्ठानअन्तर्गत भूमि, शिक्षा, डिजिटल सुशासन, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, रोजगारलगायत १२ विषयगत उपसमिति गठन गरिएका छन्। यी उपसमितिले सम्बन्धित क्षेत्रमा पार्टीको नीति तयार पार्ने र सार्वजनिक बहस चलाउने जिम्मेवारी पाएका छन्। कांग्रेसले यो व्यवस्थालाई पार्टीलाई अनुसन्धानमुखी, नीतिमुखी र आधुनिक ढंगले सञ्चालन गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।

विशेष महाधिवेशनबाट विधान संशोधनपछि लागू भएको यो नयाँ संरचनाले कांग्रेसको निर्णय प्रक्रिया र नीति निर्माणलाई कति प्रभावकारी बनाउँछ भन्ने विषय भने अब व्यवहारमै देखिनेछ।