एजेन्सी— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अस्ट्रेलिया भ्रमणअघि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएपछि अस्ट्रेलियन फेडरल पुलिसले अनुसन्धान सुरु गरेको छ। घटनापछि उनको भ्रमणका लागि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

जुलाई ९ मा मार्भल स्टेडियममा हुने ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रमसम्बन्धी फेसबुक पोस्टमा गरिएको धम्कीपूर्ण टिप्पणीपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार धम्की दिने खातासँग सम्बन्धित आईपी ठेगाना पहिचान भइसकेको छ र कानुनी उल्लंघन भएको भए/नभएको विषयमा पनि अनुसन्धान भइरहेको छ।

हालसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको छैन। प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा हुने सार्वजनिक कार्यक्रमहरूको सुरक्षा थप सुदृढ बनाइएको छ भने अस्ट्रेलियाली सुरक्षा निकायहरूले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान जारी राखेका छन्।