काठमाडौं । स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा परेको देखिएको छ । यही दबाबको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये एक निक ब्रान्ड निर्माण गर्ने कम्पनीको व्यवसायमा परेको छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको हालैको मूल्याङ्कन प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो उत्पादन क्षमताको केवल सात प्रतिशत मात्र उपयोग गर्न सकेको छ । अघिल्लो आर्थिक वर्षमा क्षमता उपयोग १७ प्रतिशत थियो । वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन गर्न सक्ने उद्योगको ठूलो हिस्सा खाली बस्दा स्थिर लागत बढेको र त्यसले व्यवसायको प्रतिफलमा असर गरेको प्रतिवेदनले औँल्याएको छ । उद्योगको सञ्चालन आम्दानी पनि उल्लेख्य रूपमा घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी घटेर २०८१/८२  मा करिब ९३ करोड ५० लाख रुपैयाँमा झरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका ठूला आयोजना कम हुनु र व्यवसाय मुख्यतः निजी क्षेत्रका साना आयोजनामा सीमित रहनु यसको प्रमुख कारण मानिएको छ । निर्याततर्फ कम्पनीले विगतदेखि भुटानमा ट्रान्सफर्मर पठाउँदै आएको भए पनि गत आर्थिक वर्षमा निर्यात अपेक्षाकृत कम भएको जनाएको छ । चालु वर्ष पुनः निर्यात विस्तार गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ । यद्यपि व्यवसायमा केही सकारात्मक संकेत पनि देखिएका छन् । प्रतिवेदनअनुसार सन् २०२६ मेसम्मका लागि कम्पनीसँग करिब ९५ करोड ७० लाख रुपैयाँ बराबरका खरीद आदेश सुरक्षित रहेकाले आगामी अवधिमा आम्दानी सुधार हुने अपेक्षा गरिएको छ ।

तर कच्चा पदार्थको मूल्यमा उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा हुने परिवर्तन तथा विदेशी उत्पादकसँगको मूल्य प्रतिस्पर्धा कायम रहेसम्म स्वदेशी ट्रान्सफर्मर उद्योगको नाफा सुधार सहज नहुने प्रतिवेदनले निष्कर्ष निकालेको छ ।