काठमाडौं— होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एक जहाजमाथि शनिबार भएको आक्रमणपछि उक्त क्षेत्रमा समुद्री आवागमन उल्लेख्य रूपमा घटेको छ ।

सामुद्रिक अनुगमन संस्था केप्लरका अनुसार शनिबार २९ वटा मालवाहक जहाजले जलमार्ग पार गरे पनि आइतबार यो सङ्ख्या घटेर १२ मा सीमित भयो ।

अमेरिका–इरान तनावका बीच सुरक्षा चिन्ता बढेपछि केही जहाजले वैकल्पिक मार्ग प्रयोग गरेका छन् ।

सक्रिय ट्रान्सपोन्डर भएका जहाजको मात्र तथ्याङ्क उपलब्ध भएकाले वास्तविक सङ्ख्या केही बढी हुन सक्ने बताइएको छ ।

यसैबीच, इरानले होर्मुज जलमार्ग व्यवस्थापनबारे ओमानसँग छलफल थालेको छ भने अमेरिकाले अन्तरराष्ट्रिय जलमार्ग प्रयोगमा कुनै ‘ट्रान्जिट शुल्क’ स्वीकार नगर्ने स्पष्ट गरेको छ ।