काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदानमा अपेक्षाभन्दा निकै कम प्रतिनिधिको सहभागिता देखिएको छ। केन्द्रीय सदस्य चयनमा उल्लेख्य उपस्थिति जनाएका प्रतिनिधिहरूमध्ये ठूलो संख्या पदाधिकारी निर्वाचनअघि नै मतदानस्थलबाट फर्किएपछि मतदाता सहभागिता ह्वात्तै घटेको हो।

निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारीतर्फ कुल १ हजार २८९ मत खसेको छ। यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा भने २ हजार ९५९ मत खसेको थियो। यस आधारमा हेर्दा पदाधिकारी निर्वाचनमा १ हजार ६७० जना कम प्रतिनिधिले मात्रै मतदान गरेका छन्।

यसले पदाधिकारी चयन प्रक्रियामा प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रूपमा घटेको देखिएको छ। महाधिवेशनस्थलमा लामो समयसम्म निर्वाचन प्रक्रिया लम्बिनु, प्रतिनिधिहरूको थकान तथा घर फर्किने हतारजस्ता कारणले मतदानमा असर परेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसबारे निर्वाचन समितिले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

रास्वपाले यसपटक ५ पदाधिकारी चयनका लागि निर्वाचन गराएको हो। मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी भइरहेको छ भने पदाधिकारीको अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।

असार ७ गतेदेखि सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन पदाधिकारीको नतिजा घोषणा र समापन समारोहसँगै आज सम्पन्न हुने कार्यक्रम छ।